०३ मंसिर,काठमाडौ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति भए पछि नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको व्यापार सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनतम र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने त्यस क्षेत्रका जानकारहरुले बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसिसिआइ इनोभेसन डायलगमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना, मझौला, र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने वताउनुभयो ।
अध्यक्ष ढकालले अन्तराष्ट्रियस्तरमा बढने चुनौति सामना गर्न नवप्रवर्तनमा लगानी बढाउनु पर्नेमा जोड दिनु भयो ।
ढकालले नेपाली उत्पादनहरू बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेकोले उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायीहरूले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उद्योग सचिव कृष्णबहादुर राउतले पुराना कानुनमा परिमार्जन गरि व्यवसायी मैत्री बनाउने प्रयास भैरहेको वताउनुभयो ।
उहाँले बौद्धिक सम्पत्ति सम्बन्धी कानुन परिमार्जन गरिरहेको र नवप्रवर्तनमा सहयोग पुग्ने गरि नीतिगत सुधार गरिने जानकारी गराउनुभयो ।
त्यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा पछि तल झर्न नपर्ने गरि तयारी गर्नुपर्ने वताउनुभयो ।
नेपाल सन् २०२६ नभेम्बरदेखि अतिकम बिकसित मुलुकबाट बिकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ । त्यसपछि युरोपेली युनियन लगायत विभिन्न बिकसित देशहरुमा नेपालले पाइरहेको भन्साररहित सुविधाहरु ह्टने छन् ।
महासघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना
नेपाल उद्योग वाणिज्य महासघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उदघाटान सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गर्नुभयो ।
केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि, र तालिम प्रदान गर्नेछ । साथै, उद्यमीहरूलाई सशक्त बनाउनका लागि बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, र व्यवसाय रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराउनेछ ।
केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरू उपलब्ध गराउनेछ । साथै, आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधारहरू अपनाउन सहयोग गर्नेछ ।
केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन, व्यापार मेलाहरू, प्रदर्शनीहरू, र अन्य व्यापार प्रवर्द्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्नेछ ।
लघु, घरेलु, साना तथा मझौला उद्यम विकास केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन, र विपद व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि उपलब्ध गराउनेछ ।
यसले व्यवसाय सम्बन्धी समस्याहरू समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्नेछ । केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, लाइसेन्स प्राप्ति, कर सम्बन्धी जानकारी, र सरकारी नियमहरूको पालना गर्न सहयोग गर्नेछ।
केन्द्रले नयाँ व्यवसायिक अवसरहरूको पहिचान गर्न सहयोग गर्नेछ र उद्यमीहरूलाई नवप्रवर्तन गर्न, अनुसन्धान गर्न, र आफ्नो व्यवसायमा नवीनता तथा प्रतिस्पर्धात्मक लाभ ल्याउन प्रोत्साहित गर्नेछ ।
मा प्रकाशित