१५ मंसिर बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
रूपन्देही उद्योग सङ्घले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अब तीव्र गतिमा औद्योगीकरणमा जानुपर्ने बताउनुभयो ।
सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै स्थानीयले जोतभोग गरिरहेको र बस्ती रहेको क्षेत्र छाडेर भएपनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताउनुभयो ।
औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो ।
तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब तीन सय बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेर विरोध गरेका थिए ।
अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरूलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ’–अर्थमन्त्री पौडेलले भन्नुभयो ।
उहाँले निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार नहुने बताउनुहुँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल सञ्चालनका लागि समिति बनाइएको र कार्यविधि बनाएर छिटै सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
मा प्रकाशित