२८ पुष पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यस सिजनमा हालसम्म सुन्तलाको करिब एक अर्बको मूल्य बराबरको कारोबार भएको छ ।
असोजको अन्तिम साता देखि पुसको २६ गतेसम्म आउँदा यस क्षेत्रमा करिब एक अर्ब मूल्य बराबरको सुन्तलाको आर्थिक कारोबार भएको व्यवसायीहरूले बताउनु भएको छ ।
गण्डकी प्रदेशको मनाङ, मुस्ताङ र नवलपुर बाहेक अन्य ८ जिल्लाबाट पोखरा भित्रिएको सुन्तलाको उक्त मूल्य बराबरको आर्थिक कारोबार भएको व्यवसायीको दाबी छ ।
पोखराको एउटा एउटा ठुलो फलफूल थोक बजारमा हिजोआज दैनिक जसो ३५ मेट्रिकटन सुन्तला भित्रिने गरेको छ । पर्यटनको राजधानी पोखरामा दैनिकजसो ३० देखि ३५ मेट्रिकटन सुन्तला भित्रिने गरेको शान्ति वन वाटिका स्थित कृषि बजार व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।
अघिल्ला वर्षको तुलनामा यस बर्ष स्याङजा भन्दा बागलुङ, बेनी र पर्वतबाट बढी सुन्तला पोखरामा भित्रिने गरेको कार्यालयका योजना शाखा सहायक रुपा दाहालले बताउनु भयो ।
उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा यस बर्ष र स्याङ्जाबाट केही कम सुन्तला पोखरामा भित्रिएको छ ।
त्यसै गरी तनहुँ र थोरै मात्रमा गोर्खाबाट समेत सुन्तला पोखरा आउन थालेको उहाँले जनाउनु भयो । प्रदेशका अन्य जिल्लाको हकमा मनाङ, मुस्ताङ र नवलपुर बाहेक अन्य जिल्लाको सुन्तला कम मात्रमा पोखरा आउने गरेको छ ।
थोक बजारमा प्रतिकेजी सानो ३० रुपैयाँ देखि ठुलो ग्रेडिङ गरेको १ सय ३० रुपैयाँमा होलसेल मूल्यमा सुन्तला बिक्री भएको छ ।
बजारमा खुद्रा मूल्य सामान्यतया ६० रुपैयाँ देखि एक सय ८० रुपैयाँमा बिक्री भएको छ । असोजको अन्तिम तासा देखि पोखरामा विभिन्न क्षेत्रबाट सुन्तला भित्रिएसँगै यहाँबाट पूर्व तर्फ, काठमाण्डौं र तराई क्षेत्रसम्म सुन्तला बिक्रीको लागि जाने गरेको व्यवसायीहरूले बताउनु हुन्छ ।
आउँदो माघ महिनामा समेत पोखरामा सुन्तलाको खरिद बिक्री हुने अनुमान गरिएको छ । यसपाली पुष महिनामा प्रायः घाम लाग्दै आएकोले सुन्तलाको राम्रो बिक्री वितरण भएको व्यवसायीहरू बताउनु हुन्छ । पोखरा क्षेत्रमा आयोजना भएका मेला महोत्सवमा समेत सुन्तलाको बिक्री वितरण भएको छ ।
मा प्रकाशित