माघ ४, काठमाडौं । विज्ञहरुले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘सेपिङ द फ्युचर : स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टर’ शिर्षकमा भएको प्यानल डिसकसनमा विज्ञहरुको आन्तरिक खपत बढाउदा दिर्घकालमा नेपाललाई फाइदा हुने बताएका हुन् ।
पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारको विद्युत नीतिको प्राथमिकता निर्यात हुनु नहुने बताए । उनका अनुसार प्रसारणलाइनमार्फत उत्तर र दक्षिण बजारसँग गाँसिनु राम्रो हो ।
समय समय नेपालको छिमेकी मुलुकसँग व्यापारिक सम्बन्ध खलबलिने गरेको छ ।
‘नेपाल र भारतबीचको राजनीतिक सम्बन्धको कुरा गर्दा दिल्लीमा पानी पर्दा काठमाडौंमा मानिसहरु छाता औड्छन् भनिन्छ । काठमाडौंमा बाघ गर्जिदा दिल्लीमा बन्दुक पड्किन्छ भनिन्छ,’ उनले भने, ‘ऊर्जामा आन्तरिक खपत बढाउनुपर्छ ।
यसले दिर्घकालमा नेपाललाई राम्रो गर्छ ।’ उनले नेपालको वातावरण अनुकुल भएकाले सूचना प्रविधिमा आधारित उद्योगमा प्राथमिकता दिनुपर्ने पनि बताए ।
उनले हाइड्रोजन प्रविधिमा नेपालले लगानी गर्न आवश्यक रहेको बताए । ‘५१ प्रतिशत नेपालीले खाना पकाउन दाउरा प्रयोग गर्छन् ।
मुलुकभरीका सबै चुलो विद्युतीय बनाएर एलपी र दाउरा विस्थापन गर्न सकिछ,’ उनले भने, ‘मुलुकभरीको भान्छालाई विद्युतीय बनाउन सकिए नेपालको अर्थतन्त्रलाई ठूलो योगदान पुर्याउछ ।
त्यसले दिर्घकालमा ठूलो फाइदा पुर्याउँछ ।’
मा प्रकाशित