०९ माघ भद्रपुर, झापा । झापाको प्रमुख व्यापारिक शहर बिर्तामोडमा बुधवारदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार र कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।
बुधवार दिउसाे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले महाेत्सवकाे शुरु गर्नुभयो ।
उहाँले व्यापार प्रवद्र्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।
व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक विर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजन एपोलो पेन्ट्सले गरेको छ ।
विर्तामोड– ५ स्थित धर्मकाँटा रोडमा आयोजना गरिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गर प्रयोग गरिएको संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।
महोत्सवमा १५० वटा स्टलमध्ये १४० वटा स्टल बुक भइसकेको जनाइएको छ ।
अलैँची, अदुवा, कुचो, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
महोत्सवमा भारत, भूटान, बङ्गलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनहरू पाइने जनाइएको छ । अध्यक्ष न्यौपानेका अनुसार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने महासचिव कुशल खतिवडाले जानकारी दिनुभयो ।
मा प्रकाशित