सिमेन्टको मूल्य समायोजन गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

आर्थिक परिवेश

 ०९ माघ   काठमाडौँ ।   संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिकाे बुधवारकाे बैठकमा समितिका  सदस्य सांसदहरु, विभागीयमन्त्री,  उद्योगी तथा निर्माण व्यवसायीहरूसँगको  छलफलपछि समितिले सिमेन्टमा भएको दोब्बर मूल्यवृद्धि तत्काल समायोजन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीसँग समन्वय गरेर  तत्काल समस्याको समाधन गरिने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले बजारमा सिमेन्टको  माग बढेको बेलामा  मूल्य पनि वृद्धि हुने गरेको  बताउनुभयो ।

माग घटेको बेलामा घाटामा सिमेन्ट विक्री गर्ने गरेको जानकारी दिँदै अध्यक्ष मारुले अघिल्लो वर्षको घटा पूर्तिका लागि सिमेन्टको बजार मूल्य बढाइएको  बताउनुभयो ।

त्यसैगरी निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंहले उद्योगीहरूले सिमेन्टको मूल्य दोब्बर बनाएको भन्दै यसले राज्यको विकास निर्माणदेखि व्यक्तिको निर्माणसम्ममा आर्थिक भार वृद्धि गरेको  बताउनुभयो ।

बैठकमा सांसदहरु योगेश भट्टराई, अमरेशकुमार सिंह, जनार्दन शर्मा, राजन केसी, ज्वालाकुुमारी शाह, ताराबहादुर लामा र हरी ढकाललगायतले सिमेन्टको मूल्यवृद्धि उपभोक्ता हितविपरित भएको भन्दै तत्काल मूल्य घटाउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले नेपालले निर्यात गरेको सिमेन्ट भारतीय बजारमा प्रतिबोरा पाँच सय रुपैयाँमा पाइने तर नेपाली बजारमा साँढे आठ सयसम्म पर्ने गरेको भन्दै सार्वजनिक लेखा समितिले  उपसमिति बनाएर सिमेन्टको मूल्य निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मा प्रकाशित