गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि (आरएनपी–एआर) प्रणाली लागु

आर्थिक परिवेश

१० माघ, भैरहवा ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीबारदेखि ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली लागु भएको छ ।

भिजिबिलिटी समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।

विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ ।

यो समस्या समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।

हाल यान्त्रिक विधि (आईएफआर) मा उडान गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी १ हजार ८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९ सय मिटर भिजिबिलिटी भए जहाज उडान र अवतरण गर्न सक्नेछन् ।

भिजिबिलिटी र अन्य कारण देखाउँदै मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए । नेपाल एयरलाइन्सले भने काठमाडौं– भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ ।

 

आरएनपी–एआर प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । यो प्रणालीले भिजिबिलिटीका कारण उडान र अवतरणमा आइरहने अवरोध हटाउने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनु भयाे ।

 

उनका अनुसार ४२ दिने सूचना प्रकाशन अवधि पूरा भएकाले आजदेखि भूउपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधि औपचारिक रूपमा लागु भएको हो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका तर्फबाट ‘आरएनपी–एआर’ प्रणाली लागु भए पनि अब विदेशी वायुसेवाहरूले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै यो विधि व्यवहारमा कार्यान्वयन हुनेछ ।

 

‘यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागु हुने नभई न्यारो बडी (ए३२०) र वाइड बडी (ए३३०) सिरिजका जहाजमा लागु हुने हो ।

ती जहाजमा आरएनपी–एआर प्रणाली लागु गर्न सकिने सिस्टम हुन्छ,’ तिवारीले भने, ‘अब गौतमबुद्ध विमानस्थलमा उडान–अवतरण गर्ने ए३२० र ए३३० स्तरका जहाजले यो प्रणाली लागु गर्नुपर्ने हुन्छ ।’

आरएनपी–एआर प्रणाली लागु भए पनि विदेशी वायुसेवाका जहाजले उडान र अवतरण गर्न भने समय लाग्ने तिवारीले बताउनु भयाे  ।

यो विधि लागु गर्न विदेशी वायुसेवा कम्पनीहरूले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान पूरा भएको आधारमा अनुमति लिनुपर्ने हुन्छ ।

त्यसपछि पाइलटहरूलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रक्रिया पूरा गर्न समय लाग्ने तिवारीले जानकारी दिनु भयाे ।

‘हाल गौतमबुद्धमा आईएफआर विधिमार्फत उडान गर्दा न्यूनतम भिजिबिलिटी १ हजार ८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९ सय मिटर भिजिबिलिटी भए जहाज

अवतरण गर्न सक्नेछन्,’ तिवारीले भने, ‘यो विधि एउटा फ्लाइङ रुट हो, जसमा कुन डाइरेक्सन, कुन एंगलबाट जहाज एयरपोर्टमा ल्यान्ड गर्ने भन्ने पाइलटले फलो गर्नुपर्छ ।’

त्रिभुवन विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले १ हजार १ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्धमा ९ सय मिटर भिजिबिलिटीमा काम गर्ने उनले जानकारी

दिनु भयाे ।   भिजिबिलिटीको समस्या देखाउँदै उडान बन्द गरेको जजिराले फेब्रुअरी १ बाट उडान गर्ने छ ।

फ्लाई दुबईले १३ जनवरीबाट उडान सुरु गरेको छ । कतार एयरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यस यता उडान गर्ने टुंगो छैन ।

महाप्रबन्धक तिवारीका अनुसार हालसम्म फ्लाई दुबईले आरएनपी–एआर एप्रोच प्रणाली लागु गर्न चासो र रुचि देखाएको छ भने जजिराका केही जहाजमा यो प्रणाली जडान छ ।

जजिराले ‘लो भिजिबिलिटी’ मा गौतमबुद्ध विमानस्थलमा टेस्ट फ्लाइट गरेर सफल भए निरन्तरता दिन सक्ने तिवारीले बताउनु भयाे ।

उद्घाटनको तीन वर्ष पुग्न लाग्दा समेत विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पर्याप्त र नियमित नचल्दा रुपन्देहीमा ठूला होेटलसहित पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको अर्बौं लगानीले प्रतिफल उठाउन नसकेको भन्दै व्यवसायी निराश छन् ।

सरकारले विमानस्थल राम्ररी चल्न अत्यावश्यक श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, म्यानपावर कम्पनीका शाखा, एयरलाइन्स कम्पनीका सम्पर्क कार्यालय भैरहवामा स्थापना नगर्दा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यताले भैरहवा विमानस्थलले पर्याप्त यात्रु पाउन सकेको छैन ।

भैरहवा विमानस्थलबाट जहाज चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा ‘कार्टेलिङ’ गरेर स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री गरिएको यहाँका स्थानीय ट्राभल एजेन्सीहरूको गुनासो छ ।

हवाई टिकट बिक्रीको सिन्डिकेट अन्त्य गर्न पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने तथा बौद्धमार्गी

बाहुल्य देश चीन, भियतनाम, म्यानमार, श्रीलंका, भुटान, जापान लगायतबाट सिधा उडान हुन सकेमात्र गौतमबुद्ध विमानस्थल दीगो रूपमा चल्न सक्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ भनाइ छ ।

मा प्रकाशित