११ माघ काठमाडौं | पहाडलाई तराईसँग अर्थात रुपन्देही जिल्लालाई पाल्पासँग जाेड्ने सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेल छिचाेल्ने ‘ब्रेक थ्रू’ आज, ( शुक्रबार) गर्ने तयारी भएकाे छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिर नजिक रहेको बहुचर्चित सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रू’को सबै तयारी पूरा भएको आयोजक सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो।
अधिकारीका अनुसार ‘ब्रेक थ्रू’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत अन्य अधिकारीहरूको उपस्थिति हुनेछ। यो सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेदेखि शुरू भएको थियो।
‘ब्रेक थ्रू’का लागि साढे १ मिटर भाग सुरक्षित राखिएको छ र बाँकी भागमा ब्लास्टिङ गरेर सिद्धबाबा मन्दिर र विद्युत् हेडवक्सतर्फबाट खन्दै आएको सुरुङको मुख आपसमा जोडिने छ।
सुरुङमार्गको कुल लम्बाइ १,१२६ मिटर रहने अनुमान गरिएको छ, तर खन्ने भाग भने १,०८९ मिटर मात्र हो।
हालसम्म, सिद्धबाबा मन्दिरतर्फ ६१० मिटर र विद्युत् हेडवक्सतर्फ ४७७.२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ। आउँदो वर्षायामको अप्ठ्यारो मौसमको समयमा सुरुङमार्गबाट सवारी साधन सञ्चालनको तयारी छ।
‘ब्रेक थ्रू’पछि बाहिरी क्षेत्रको सडक मर्मत गर्दा टनेलबाटै गाडी पठाउने योजना रहेको छ। हालसम्म, आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ।
आजै, प्रधानमन्त्री ओलीले बुटवल–गोरुसिंगे सडकको शिलान्यास पनि गर्दै हुनुहुन्छ। उहाँले बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा बुटवल–गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
सडक विभागले दुई चरणमा बुटवलदेखि गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक निर्माण गर्दैछ। पहिलो चरणको ५० किलोमिटर सडकको शिलान्यास आज हुनेछ।
मा प्रकाशित