२६ माघ काठमाडाै । नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सुर्खेतमा सम्झौता भएको छ।
विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो।
उक्त सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रममार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।
सम्झौताअनुसार विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजना, शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमको विकासमा सहकार्य गर्नेछन्। साथै संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजना आयोजना गरिनेछ भने शैक्षिक स्रोत र प्रकाशन आदानप्रदान हुनेछन्।
सम्झौतापत्रमा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम,
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिले हस्ताक्षर गर्नु भएकाे छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको उक्त सम्झौताको साक्षीमा पाँचै विश्वविद्यालयका रजिस्ट्रारहरु समेत उपस्थित रहनु भएकाे थियाे ।
सुरुवाती सम्झौता अवधि पाँच वर्षको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने बताइएको छ।
कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा ६ महिनाअघि सूचना दिनुपर्नेछ।
सम्झौताले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धनका साथै विद्यार्थी तथा शिक्षकका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले जानकारी दिनु भयाे ।
मा प्रकाशित