नागरिक र वैदेशिक बचतपत्रकाे बिक्री शुरू, लगानीबारे जानकारी नहुँदा न्यून आवेदन

आर्थिक परिवेश

१५ फागुन,काठमाडौँ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउन नागरिक र वैदेशिक बचतपत्रकाे बिक्री  बिहिवारबाट शुरू गरेकाे छ ।

 

कार्यालयले तीन अर्बको नागरिक बचतपत्र र  ५० करोड रूपैयाको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हाे  ।

 

कार्यालयले एक सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासन शुरू गरेकाे जानकारी दिएको छ ।

 

पाँच वर्ष अवधिका नागरिक बचत पत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचत पत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

 

फागुन १५ गतेदेखि जारी भएकाे नागरिक र वैदेशिक बचतपत्र आगामी चैत १५ गतेसम्म बिक्री खुला रहने छ  ।

उक्त अवधि अगावै निष्कासित रकम बराबरको आवेदन परेमा बन्द गरिने जनाइएको छ ।

 

यी बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैङ्क खातामा सोझै भुक्तानी हुनेछ ।

 

नागरिक र वैदेशिक बचतपत्रमा घटीमा  १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई  १० हजार रूपैयाले ले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ ।

नागरिक र वैदेशिक बचतपत्र पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने व्यवस्न्था रहेकाे छ  ।

 

बचत पत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन् ।

 

यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो ।

 

सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा दुईदेखि साढे दुई प्रतिशत बिन्दुले बढी हो ।

यसमा सरकारले मूलधनको सुनिश्चित गरेको हुँदा सुरक्षित लगानी मानिन्छ ।

 

साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैङ्क खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ ।

 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

मा प्रकाशित