१६ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
२०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ ।
गत आव २०८०/०८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।
प्राधिकरणले चालु आव पहिलो ६ महिना विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ ।
यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ । त्यसका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ ।
भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेट अन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ ।
वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।