३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङ मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।
१ सय २ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ ।
हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समिति अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसन अनुगमन भ्रमण गरी निर्माण प्रगतिबारे जानकारी लिएको छ ।
मध्यभोटकोशीबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोक बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।
प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी छ ।
४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिने छ ।
उक्त लाइन २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।
कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।
प्रसारण लाइन अन्तर्गत सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामसमेत टोलीले निरीक्षण गरेको थियो ।
हिउँदयामको विद्युत् भार व्यवस्थापन गर्न ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजना निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैं फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र अगाडि बढाउन निर्देशन दिए ।
बाह्रबिसे नगरपालिका–५ स्थित मध्यभोटेकोशी आयोजनाको विद्युत्गृह स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ ।
तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो ।
बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । आयोजना अन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
मा प्रकाशित