०४ बैशाख, वीरगन्ज । आगामी वर्षे धानबाली लाई लक्षित गर्दै वीरगन्ज नाकाबाट एक महिनाको अवधिमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले
ग्लोबल टेन्डरमार्फत आयात गरेको १५ हजार टन डीएपी र १० हजार टन युरिया गरी २५ हजार टन मल वीरगन्ज भित्रिएको छ ।
कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, भारतको कोलकाताबाट मल बोकेर रेल्वे र्याक वीरगन्ज आइपुगेका छन् ।
एउटा रेल्वे र्याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ । कुल ६ र्याक मल मध्ये सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा ३ र सिर्सिया सुक्खा बन्दरगाह हुँदै कम्पनीको गोदाममा मा ३ र्याक मल आइपुगेको हो ।
कूल १५ हजार टन डीएपीमध्ये ६ हजार टन डीएपी मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा भण्डारण समेत भइसकेको छ ।
बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय पठाइने कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख पाण्डे बताउनुभयो ।
ग्लोबल टेन्डरबाट सन इन्टरनेसनल कम्पनीले २५ हजार टन डीएपी मलको आपूर्तिको ठेक्का पाएको थियो ।
यो कन्साइन्मेन्ट अन्तर्गत ९ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयमा पठाइने पाण्डे बताउनुभयो ।
हाल चैते धान बालीका लागि डीएपी मलको माग नरहेकाले आउँदो वर्षे धान बालीका लागि यो कन्साइन्मेन्टको मल उपयोगी हुने पाण्डेले बताउनुभयो ।
कम्पनी मधेश प्रादेशिक कार्यालयले मधेश प्रदेशका जिल्लाका साथै बागमती र गण्डकी प्रदेशका समेत गरी १६ जिल्लामा मल परिचालनको जिम्मेवारी वहन गर्दै आएको छ ।
कम्पनीको युरिया मल भने नेपाल आउन अझै समय लाग्ने पाण्डेले जानकारी दिनुभयो । ३० हजार टनको कन्साइन्मेन्टको युरिया मल हाल कोलकाता बन्दरगाह आइपुगेको जानकारी पाण्डे दिनुभयो ।
यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको ३० हजार टन युरिया मल मध्ये १० हजार ५ सय टन युरिया मल वीरगन्ज आइपुगेको छ ।
साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले सन इन्टरनेसनल कम्पनी आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्ट अन्तर्गत आपूर्तिकर्ता सन इन्टरनेसनलले चीनबाट उक्त मल ल्याएको हो ।
कुल ३० हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले १० हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले ९ हजार ५ सय र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल प्राप्त गरेका छन् ।
आगामी बर्षे धानबाली लाई मलको अभाव हुन नदिन सरकार गम्भीर भई बेलैमा रासायनिक मलको आयात र भण्डारणमा सम्बन्धित निकायलाई निर्देशित गरेको कारण समयमै मलको आयात भएको छ ।
मा प्रकाशित