१३ जेठ काठमाडौँ । सरकारले छात्रवृत्ति परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ५ सय ७२ मिलियन जापानी येन अर्थात् करिब ५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जापान सरकारबाट प्राप्त हुने अनुदान रकम स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूमा छात्रवृत्ति प्रदान गर्न प्रयोग हुने जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद् र गणतन्त्र कोरियाको ग्रामीण विकास प्रशासन बीच नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र स्वीकृत गरी समकक्षी मिलाई समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपाल सरकार र दक्षिण कोरिया सरकार बीच हस्ताक्षर हुने रोजगार अनुमति प्रणाली इपिएस मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि गणतन्त्र कोरिया पठाउने सम्बन्धी समझदारी पत्र स्वीकृत गरी समकक्षी मिलाई समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले यही जेठ १४ गतेदेखि १८ गते सम्म हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा
पर्यवेक्षकको रुपमा सहभागी हुन परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिमा नेपाल सरकारका सचिवहरू मध्येबाट प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला क्षेत्र हेर्ने सचिव र विशिष्ट श्रेणीबाट सेवा निवृत्त कर्मचारी मध्येबाट पूर्व सचिव डा गोपीकृष्ण खनाललाई सदस्य तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा प्रसारण नियमावली २०८२ र खाद्य प्रणाली रूपान्तरणको रणनीतिक योजना २०८१/०८२–०८६/८७ स्वीकृत गर्ने, राष्ट्रिय खेलकुद
विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक र सूचना प्रविधि तथा साइवर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा काभ्रेपलाञ्चोकका लक्ष्मण हुमागाईँलाई नियुक्त गर्ने निर्णय गरेको छ । हुमागाईँ यस अघि पनि बोर्डको अध्यक्ष रहनुभएको थियो ।
यस्तै सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने, झापाको अर्जुनधारा नगरपालिका र
जापानको तोनो सहर तथा ललितपुर महानगरपालिका र संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको ब्रुमफिल्ड सहर बीच भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मा प्रकाशित