
११ साउन मुस्ताङ। मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ ।
गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ ।
झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुआत गरेको थियो । त्यसबेला उहाँको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए ।
उहाँ १३ वर्षको हुँदा बुबा बित्नुभयो । त्यसपछि बुबाको कृषिकर्मको जिम्मेवारी उहाँको काँधमा थपियो । गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ/दिदीबहिनी सदस्य छिन्नभिन्न भए ।
बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याउनुभएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफँैले सम्हाल्नुभयो ।
गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो । आफ्ना बुबाको प्रेरणाबाट स्याउखेती लाग्नुभएका गुरुङ वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसक्नुभएको छ ।
सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आउनुभएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउनुहुन्छ ।
मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उहाँले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याइपुर्याउन सफल हुनुभयो ।
गुरुङ भन्नुहुन्छ, “बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम हातैले गर्नुपथ्र्यो, अहिले त विगतको भन्दा स्याउखेती प्रणालीमा आकाशजमिन फरक भइसक्यो ।”
यहाँ सडक सञ्जाल नहुँदा उत्पादन हुने स्याउ नबिकेर पशुचौपायालाई खुवाउनुपर्ने र कति स्याउ त बोटमै कुहिएर झर्ने गरेको गुरुङले स्मरण गर्नुभयो ।
त्यसबेला उत्पादन गरिएको स्याउ प्रतिकिलो रु दुईमा पनि बिक्री गर्न मुस्किल पर्ने गरेको गुरुङले सुनाउनुभयो । उहाँले विगत सम्झिँदै भन्नुभयो, “यहाँको स्याउ बजार पुर्याउन घोडा, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपथ्र्यो, स्याउ बेचेर फाइदा लिन पनि त्यसबेला किसानलाई निकै गाह्रो हुने गथ्र्यो ।”
कृषक गुरुङ अहिले ६१ वर्ष हुनुभयो । उहाँको जोशजाँगर र इच्छाशक्ति भर्खरको तन्नेरीजस्तै छ ।
गुरुङ अहिले मुस्ताङका स्याउ किसानमध्ये अब्बल किसानका रूपमा परिचित हुनुहुन्छ । दुई वर्षअघि उहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
जिल्ला र राष्ट्रियस्तरमा स्याउखेतीमा उत्कृष्ट पहिचान बनाउँदै आउनुभएका गुरुङ स्याउखेतीमा पाएको सफलतामा बुबाकै योगदान रहेको बताउनुहुन्छ ।
बुबाले अपनाएको स्याउखेतीको विरासतलाई पछ्याउँदै निकै सङ्घर्ष र मेहनत गरी अहिलेको स्थानसम्म आइपुगेको गुरुङको भनाइ छ । स्याउखेतीतर्फ प्राप्त गरेको यस प्रकारको सफलताले कुनै युद्ध जितेको जस्तै अनुभूति हुने गरेको बताउनुभयो ।
गुरुङको पुख्यौली परम्परागत स्याउखेती छँदै थियो । तर, त्यसमा सोचेजस्तो आम्दानी लिन निकै मुस्किल पथ्र्यो । विसं २०७५ अघिसम्म परम्परागत स्याउखेती गर्दै आइरहनुभएका गुरुङले अहिले बृहत् रूपमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउखेतीलाई अघि बढाइरहनुभएको छ ।
जतिबेला मनाङमा एग्रो मनाङले हाइब्रिड स्याउखेतीको नमूना परीक्षण सुरु गरेको थियो । त्यहाँको हाइब्रिड स्याउखेती सुरु गरिएको समाचार थाहा पाएपछि एग्रो फार्ममा पुगेर हाइब्रिड खेतीबारे बुझँे ।
त्यहाँबाट फुजी जातको तीन सय हाइब्रिड स्याउका बिवा ल्याएर मुस्ताङको आपनो बगैँचामा रोपे । गुरुङले रोपेको नयाँ प्रविधिको हाइब्रिड स्याउ निकै राम्रोसँग सप्रियो ।
त्यसपछि गुरुङले उत्साहित हुँदै झनै हाइब्रिड जातका स्याउ बिरुवा थप्दै बृहत्त रूपमा हाइब्रिड स्याउखेती विस्तार गर्नुभयो । गुरुङले यस वर्ष पनि झन्डै पाँच हजार बढी हाइब्रिड स्याउका बिरुवा रोप्ने तयारी गरेको बताउनुहुन्छ ।
हाइब्रिड स्याउको परीक्षण राम्रो भएपछि मुस्ताङका अन्य किसानले पनि पछ्याइरहेको गुरुङ बताउनुहुन्छ । स्याउखेतीका लागि उचित व्यवस्थापन र मलजल गर्न सकेमा राम्रो कमाई गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
गुरुङले स्याउका लागि निजी जग्गा झन्डै तीन सय रोपनी र अन्य दुई सय रोपनी जग्गा आफन्त, इष्टमित्र र संस्थागत तहमा लिज सम्झौता गरी स्याउखेती विस्तार गरेको जानकारी दिनुभयो ।
उहाँले आधा जग्गामा परम्परागत स्याउखेती र बाँकी आधा जग्गामा हाइब्रिड स्याउखेती गर्नुभएका छ । गत वर्षसम्म चार सय मेट्रिक टन स्याउ उत्पादन गरेका गुरुङले यो वर्ष पाँच सय मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । गुरुङले गत वर्ष रु तीन करोडको स्याउ बिक्री गरेको बताउनुभयो ।
कृषक गुरुङको स्याउ फार्मले २५ जनालाई स्थायी र करिब ९० जनाभन्दा बढीले अल्पकालीन रोजगारी दिएको छ । स्याउखेतीलाई भनेर किसान गुरुङले पाँच सय बढी च्याङ्ग्रा, १० वटा घोडा, नौवटा जर्सी गाई र स्याउ बगैँचामा मौरीपालन गरेका छन् ।
पालन गरिएका पशुचौपायाको मलमूत्रलाई प्रशोधन गरी स्याउखेतीका लागि मलको रूपमा प्रयोग गर्नुभएको छ । मलका लागि पालिएका च्याग्राबाट पाठपाठी उत्पादन गर्ने र मासुका लागि बिक्री गर्नुभएको छ । च्याङ्ग्रापालनबाट पनि रामै्र आम्दानी हुने गरेको गुरुङ बताउनुहुन्छ ।
गुरुङले स्याउ बगैँचाका कमसल स्याउ र बोटबाट झरेका स्याउलाई सुकुटी बनाएर बिक्री गर्नुहुन्छ । स्याउको सुकुटी बनाउन र बेमौसममा पनि पर्यटकलाई मुस्ताङको स्याउ उपलब्ध गराउन कोल्ड स्टोर अनुदानमा व्यवस्थापन गरेका छन् ।
यहाँ कृषि ज्ञान केन्द्र, स्याउ जोनबाट पनि गुरुङले कृषि यान्त्रिक उपकरण अनुदानमा प्राप्त गर्ने गरेको बताउनुहुन्छ ।
पछिल्लो समय किसान गुरुङ बगैँचाबाट परम्परागत स्याउखेतीलाई विस्तारै मासेर हाइब्रिड स्याउ लगाउने योजनामा हुनुहुन्छ ।
परम्परागत स्याउभन्दा आधुनिक हाइब्रिड स्याउखेतीबाट राम्रो आम्दानी हुने भएकाले परम्परागत स्याउलाई विस्थापित गर्दै लैजाने तयारी गरेको उहाँ बताउनुहुन्छ ।
मुस्ताङमा जलवायु परिवर्तनका कारण यहाँको स्याउ छिटोछिटो पाक्न थालेको उहाँले सुनाउनुभयो । जलवायुले आफ्ना लागि खासै असर नपुर्याएको उहाँको भनाइ छ ।
जलवायुका कारण तापक्रम वृद्धि हुँदा रोग कीरा नियन्त्रण गर्नमा चुनौती हुने बताउनुभयो । यहाँ हाइब्रिड स्याउखेतीको राम्रो भविष्य रहेकाले यसको समुचित व्यवस्थापन गर्नसके मुस्ताङका सबै किसान करोडपति हुने किसान गुरुङको भनाइ छ ।
समग्र मुस्ताङलाई स्याउको हबका रूपमा विकास गर्न यहाँ जग्गासम्बन्धी प्राविधिक तथा कानुनी जटिलता रहेको उल्लेख गर्नुभयो ।
जिल्लाको दुई प्रतिशत पनि जग्गा नापी नहुँदा स्याउखेती गर्न चाहने व्यक्तिलाई जग्गा लिजमा लिएर खेती विस्तार गर्ने कार्यमा समस्या उत्पन्न भएको उहाँले जनाउनुभयो । मुस्ताङमा खेर गएका जग्गालाई लिज प्रावधानमा ल्याउन सकेमा बर्सेनि अर्बाँै रुपैयाँ मुस्ताङ भित्रिने कृषक गुरुङले ठोकुवा गर्नुभयो ।
मुस्ताङमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गइरहेकाले जिल्लाका किसानले उत्पादन गरेको स्याउ पोखरा—काठमाडाँै पुर्याउन निकै सहज भएको उहाँले बताउनुभयो ।
यहाँ सडक विस्तारकै कारण पर्यटक आवागमन वृद्धि भइरहेकाले यहाँको स्याउ फुटकर रूपमा पनि सुहाउँदो मूल्यमा बिक्री हुने गरेको बताउनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल, हिमनदी र सिँचाइ स्रोत सुक्दै जान थालेकाले यहाँको स्याउलगायत खेतीमा थप चुनौती बढेको कर्मले सुनाउनुभयो ।
कर्म भन्नुहुन्छ, “ मुस्ताङमा कालीगण्डकी नदीको जल सतहलाई सरकारले लिफ्टिङ गरी सिँचाइको पहुँच पुर्याउन आवश्यक छ, यहाँको उच्च स्थानका स्याउ बगैँचामा सिचाइको समस्या देखिन थालेको छ, यसलाई अहिलेदेखि सरकारले योजनाबद्ध रूपमा सिँचाइको गुरुयोजना अघि बढाउनुपर्छ ।” रासस
मा प्रकाशित