
२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम सुझाव माग भएको हो ।
इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ ।
साउन १५ गतेभित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीति भने गत असार २७ गते नै सार्वजनिक गरिएको थियो । पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बनिरहेको छ ।
त्यस्तै बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन अर्को चुनौती बनेको छ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा दिने औसत ब्याजभन्दा मूल्यवृद्धि बढी हुन थालेको छ ।
जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत दर ४.४०२५ प्रतिशत छ भने चैतको उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
मा प्रकाशित