विद्युत उत्पादनको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण

आर्थिक परिवेश

२० साउन, काठमाण्डौ ।    सरकारको लिएको विद्युत उत्पादनको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेकोमा त्यस क्षेत्रका सरोकार भएकाहरुले बताउनु भएको छ ।

नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको काठमाण्डौमा आयोजित २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सरकारले जलविद्युत पुरयाउन नसकेको ठाउँमा सौर्य विद्युत् उत्पादनमार्फत सङ्घले भूमिका निर्वाह गरेको मन्त्री खड्काले उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैङ्किङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा जनताको सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो ।

विसं २०५७ सालमा स्थापना भएको सङ्घमा हाल १३५ सौर्य उर्जा कम्पनीहरु आबद्ध छन् ।

मा प्रकाशित