चितवनमा महिला उद्यमी मेला आयोजना हुने

आर्थिक परिवेश

 १७ भदाै  चितवन । ‘महिला उद्यमशीलता विकासमार्फत महिला सशक्तीकरण’ भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ ।

महिलाले घर तथा उद्योगमा उत्पादित बस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको हो ।

भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य सङ्घको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा  मेला आयोजना गर्ने तयारी गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरूको प्रदर्शनी गरिने छ ।

एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने  रिजालले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पाँच दिने मेला अवलोकन गर्न कम्तीमा पनि १५ हजार दर्शकको सहभागी हुने अपेक्षा गरिएको बताउनु भयो ।

मेलाबाट करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

महिला उद्यमीका उत्पादनलाई प्रचार–प्रसार गर्ने, स्वरोजगार र आत्मनिर्भरता बढाउने, नयाँ व्यावसायिक सम्पर्क तथा साझेदारी कायम गर्ने अवसर मेलाबाट प्राप्त हुने उहाँको भनाई छ ।

मेलाको क्रममा उद्यमशीलता सम्बन्धी गोष्ठी तथा राष्ट्रिय योग्यता प्रणाली कार्यक्रमको सहकार्यमा प्यानल डिस्कसन पनि आयोजना गरिनेछ।

आयोजकले महिला आर्थिक सबलीकरणसँगै सामाजिक सशक्तीकरण र व्यावसायिक क्षमतामा टेवा पुग्ने विश्वास लिएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनमा चार हजार सदस्य आबद्ध रहेका छन् । तीमध्ये ८०० जना महिला सदस्य आबद्ध छन् ।

मा प्रकाशित