
१३ कार्तिक,काठमाडौँ । जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड रूपैया अनुदान सहयोग प्रदान गरेको छ ।
बिहिवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।
गत वर्षको बाढी पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको थियो । विशेष गरी रोशी नदी आसपासका केही भागमा पूर्ण रूपमा क्षति भएको थियो ।
क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारबाट सहयोग प्राप्त भएको मन्त्रालयको भनाइ छ ।
सोही समारोहमा अनुदान सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गर्नु भयो ।
समारोहमा अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापनबीचको मित्रता र सहकार्यको अर्को महत्त्वपूर्ण प्रतीक भएको बताउनुभयो ।
जापानी राजदूत तोरुले जापानले प्रदान गरेको अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनः स्थापना गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र जापानबीच रहेको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्ध स्मरण गर्नुभयो । जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकीले नेपाल–जापान सम्बन्ध र सहयोगका विविध क्षेत्रबारे धारणा राख्नुभएको थियो ।
हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँस्थित जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
मा प्रकाशित