महको आयात रोक्न कृषिमन्त्रीसँग मौरी पालक किसानहरूकाे माग

आर्थिक परिवेश

  २५ कार्तिक, काठमाडौँ ।   मौरी पालक किसानहरूले महको आयात रोक्न कृषिमन्त्रीसँग माग  गरेका छन् ।

साेमवार  सिंहदरबारमा मौरी पालक किसानहरूले कृषि मन्त्रीसंग गरेकाे   छलफलमा मह उत्पादक किसानहरूले त्यसताे माग गरेका हुन् ।

छलफलमा मौरी पालक किसानहरूले भने महको आयात रोकेर  नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने माग समेत गरेका छन् ।

छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भयाे  ।

मन्त्री परियारले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाउनु भयाे ।

बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने निर्णय गरेपछि रुष्ट बनेका किसानहरूसँग उहाँले आज मन्त्रालयमै छलफल गर्दै विगतको सहमतिका आधारमा एक पटकका लागि किसान प्रतिनिधिकै रोहबरमा आयात गर्न दिएको जानकारी दिनुभयो ।

आगामी दिनमा पनि मौरी पालक किसानसँगको छलफलपछि मात्रै निर्णय गर्ने उहाँले आश्वासन दिनुभयो । उहाँले मौरी पालक किसानका समस्या र समाधानका उपाय खोज्न मन्त्रालयले एक समिति बनाएको र समितिले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

सो विषयमा मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर उचित निर्णय लिइने पनि बताउनुभयो । उहाँले महको बजारीकरणका समस्या र समाधानका उपायका बारेमा सुझाव दिन पनि अनुरोध गर्नुभयो ।

मा प्रकाशित