
१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ ।
नेपाल राष्ट्र बैंकले सरकारलाई बुझाएकाे गत आर्थिक वर्षको प्रतिवेदनमा बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार भएसँगै खुद आय पनि बढेको उल्लेख छ ।
राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ ।
चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
राष्ट्र बैंकले उक्त खुद आयलाई विभिन्न कोषमा छुट्याए पछि ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरु पौडेलले बताए ।
केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।
पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलै रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ । गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्चेको बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा धेरै हुने अनुमान छ ।
बैंकले गत आर्थिक वर्षको प्रतिवेदन पनि सरकारलाई बुझाइ सकेको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका हुन् ।
तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ ।
दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ ।
वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।
२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।
मा प्रकाशित