सुनको मूल्यले २ महिना अघिको रेकर्ड भत्कायाे हालसम्मकै उच्च

आर्थिक परिवेश

२८ मंसिर, काठमाडौं ।   आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड भत्काएकाे  छ ।

यस दिनका सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे  छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ आइतबार २ हजार २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ ।

तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । सामान्यतः अन्तर्राष्ट्रिय बजारको मूल्य भोलिपल्ट नेपाली बजारमा प्रभाव देखिन्छ ।

अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य रेकर्ड तोडिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

मा प्रकाशित