
१० पुष, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

“देशको उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएकाले यसलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
“शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।”

कुलपति कार्कीले विश्वविद्यालय जीवनको एक अत्यन्त महत्वपूर्ण मोडमा उभिएको र एउटा शैक्षिक यात्रालाई औपचारिक पूर्णता प्रदान गरेको बताउँदै उहाँले दीक्षान्त
आफैमा गन्तव्य होइन, यो त कक्षा कोठा वा अनुसन्धानमा प्राप्त ज्ञानलाई मानव विकासका लागि उपयोग गर्ने नयाँ यात्राको आरम्भ हो भन्नुभयो ।
“प्रविधिको तीव्र परिवर्तन, रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता, नैतिक द्विविधा तथा विश्वव्यापी अनिश्चितताजस्ता विषयसँग सम्बन्धित चुनौतीको सामना गर्नुपर्ने छ ।
त्रिभुवन विश्वविद्यालयबाट दीक्षित तपाईँहरू यस्ता चुनौती सामना गर्दै मानव विकास र विश्व बन्धुत्वका लागि अर्थपूर्ण योगदान गर्न समर्थ हुनुहुनेछ भन्नेमा म विश्वस्त छु ।”,
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तर ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा सुनिश्चित गर्दैन ।
प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन जरुरी भएको देख्दछु ।”
नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने उहाँको आग्रह थियो ।
८९ हजार १०१ विद्यार्थी दीक्षित १६ हजार ३०० भन्दा बढी विद्यार्थी उपस्थीत
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा बिहिवार १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो ।
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
दशरथ रङ्शालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुनुहुन्छ । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिनुभयो ।
मा प्रकाशित