
२५ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ दोस्रो त्रैमासकाे अवधि (कात्तिक–पुस) मा मुलुककाे अर्थतन्त्रमा ४.५ प्रतिशत विस्तार हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । त्रैमासिक लेखा अनुमान गर्दा २०८१/८२ को सोही त्रैमासको तुलना गरी मौमसी प्रभाव समेत समायोजन नगरिएको तथ्यांक सार्वजनिक गर्ने गरिन्छ ।
कार्यालयका अनुसार विद्युत् उत्पादन र वितरणमा भएको वृद्धि, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा, पर्यटक आगमन सहित औद्योगिक क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा योगदान गरेको हो ।
यस अवधिमा औद्योगिक वर्गीकरण अनुसार सबै १८ क्षेत्र धनात्मक वृद्धिदरमा छन् । यस वर्ष साढे ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य सरकारको थियो ।
तर, निर्माण सामग्री आयात, धानबाली उत्पादन र केही घरेलु वस्तु उत्पादनमा आएको गिरावटका कारण त्रैमासिकको वृद्धिदर खुम्चिन पुगेको कार्यालयको विश्लेषण छ ।
उता, मौसमी प्रभाव समायोजित तथ्यांक अर्थात् चालु आव पहिलो त्रैमासको तुलनामा भने दोस्रो त्रैमासमा २.०४ प्रतिशतले अर्थतन्त्र विस्तार भएको छ ।
यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा वृद्धि र २ क्षेत्रमा संकुचन आएको देखिएको छ ।
पहिलो त्रैमासको तुलनामा यस त्रैमासमा निर्माण र खानी तथा उत्खननमा संकुचन आएको तथ्यांकले देखाएको छ ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको छ । तर, सोही क्षेत्रको वृद्धिदर अघिल्लो आव सोही अवधिको तुलनामा २.२१ प्रतिशतले मात्र विस्तार भएको छ ।
धानबालीमा आएको कमीको असर कृषिमा देखिएको कार्यालयले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी वृद्धि भने विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापमा देखिन्छ ।
यस क्षेत्रमा २२.७५ प्रतिशतको वृद्धि प्राप्त भएको छ । वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण, आवास तथा भोजन, थोक तथा खुद्रा व्यापारमा क्रमश: १२.५१, ९.६५, ५.१८ र ४.११ प्रतिशत विस्तार भएको तथ्यांक छ ।
अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार वृद्धिदर ४.११ प्रतिशत रहने अनुमान छ । यसमा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यो क्षेत्रको वृद्धिदरमा योगदान गरेको हो ।
यस अवधिमा पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापनको ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा तथा अनिवार्य सामाजिक सुरक्षामा १.११ प्रतिशत र शिक्षामा १.१६ प्रतिशतमात्र वृद्धिदर हुँदा त्यसले समग्र अर्थतन्त्रको वृद्धिदर कम भएको देखिन्छ ।
आव २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र विस्तार १ प्रतिशतले गिरावट आएको थियो । त्यसयताका हरेक त्रैमासमा आर्थिक वृद्धिदर करिब स्थिर देखिन्छ । चालु आव पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.२४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
मा प्रकाशित