
१८ असार, काठमाडौं । आन्तरिक पर्यटन सर्वेक्षणले देशको अर्थतन्त्रमा आन्तरिक पर्यटनको बलियो उपस्थिति देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँग तुलना गर्दा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान पुर्याएको देखिएको हो ।
देशभरका ४४४ गणना क्षेत्रका कुल ५ हजार ३२८ घरपरिवारलाई नमुनाका रूपमा छनोट गरी ‘टु-स्टेज स्ट्रेटिफाइड स्याम्पलिङ डिजाइन’ विधिबाट यो सर्वेक्षण गरिएको हो ।
उक्त सर्वेक्षण अनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवार सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागी भई ‘पर्यटक घरपरिवार’ का रूपमा वर्गीकृत भएका छन् ।
बाँकी ३२ लाख ८९ हजार (४७.६ प्रतिशत) घरपरिवार भने कुनै पनि पर्यटकीय भ्रमणमा संलग्न नभएको पाइएको छ । पर्यटक घरपरिवारको औसत सदस्य सङ्ख्या राष्ट्रिय स्तरमा ३.९४ रहेको छ ।
आन्तरिक पर्यटकहरूमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ, जसमा जेनेरेसन जेड (१३-२८ वर्ष) को हिस्सा सबैभन्दा बढी २६.६ प्रतिशत छ ।
प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेश प्रदेशमा सबैभन्दा लामो औसत बसाइ (८.१८ दिन) पाइएको छ भने वार्षिक भ्रमण आवृत्तिका हिसाबले गण्डकी प्रदेश (६.२६ पटक) सबैभन्दा अगाडि छ ।
रात बिताउने पर्यटकका प्रमुख गन्तव्य जिल्लाहरूमा काठमाडौँ, चितवन र कास्की रहेका छन्, जसमा मनोरञ्जनका लागि कास्की सबैभन्दा लोकप्रिय देखिएको छ ।
नेपालबाट कुल २ लाख ९३ हजार नेपाली बासिन्दा सोही दिन फर्किने गरी र ६ लाख २० हजार नेपाली रात बिताउने गरी बाह्य भ्रमणमा गएका छन् ।
सोही दिन फर्किने बाह्य पर्यटकको मुख्य उद्देश्य किनमेल (६३.९ प्रतिशत) र रात बिताउनेहरूको पनि मुख्य उद्देश्य किनमेल (४०.३ प्रतिशत) तथा धार्मिक उद्देश्य (१९.६ प्रतिशत) रहेको छ ।
बाह्य भ्रमणको मौसमी वितरण हेर्दा कात्तिकदेखि पुससम्मको सिजनमा सबैभन्दा बढी भ्रमण हुने गरेको देखिन्छ । भारततर्फ सोही दिन फर्किने भ्रमणको कुल खर्चको ७०.७ प्रतिशत हिस्सा किनमेलमा मात्र खर्च हुने गरेको छ ।
नेपाली घरपरिवारले सन्दर्भ अवधिमा पर्यटन सम्बन्धी गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन् । आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा ३ खर्ब ४४ अर्ब ४४ करोड र सोही दिन फर्किने भ्रमणमा ९० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ ।
बाह्य पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा ४७ अर्ब ९७ करोड र सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ ।
उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत (सबैभन्दा बढी) हिस्सा खर्च भएको छ भने विधागत रूपमा किनमेलमा २६ प्रतिशत खर्च भएको छ ।
खर्चका शीर्षकहरूमध्ये यातायात खर्चको ६८.७ प्रतिशत हिस्सा सार्वजनिक सवारी साधनमा खर्च हुने गरेको पाइएको छ । प्रति भ्रमण औसत खर्च भने ११ हजार ९२२ रुपैयाँ रहेको छ, जसमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणको औसत खर्च सबैभन्दा उच्च २३ हजार ५१६ रुपैयाँ छ ।
पर्यटन स्याटलाइट लेखाको ढाँचा अनुसार नेपालमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको देखिएको छ ।
यस उपभोगका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट कुल ३ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको र यसको कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको सर्वेक्षणले देखाएको छ।