
१७ असोज, काठमाण्डौ । गत हप्ताको बाढीपहिरोका कारण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ ।
बाढीबाट २६६ मेगावाट क्षमताका ३ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका ८वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ ।
बाढीका कारण ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ ।
निर्माणाधीन आयोजनाको बाँध,सुरुङ,आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेभीले जानकारी दिएको छ ।
१२ अर्ब ९३ करोड लागत अनुमान गरिएको त्यस आयोजनामा नविल बैङ्क लिमिटेडको नेतृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत र २५ प्रतिशत प्रवद्र्धक र शेयर लगानीकर्ताहरुमार्फत जुटाइने सहमती भएको थियो ।
त्यसतै प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ वटा जलविद्युत् आयोजना बन्द भएका छन् ।
बाढीका कारण नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरि–१, ७१ मेगावाट क्षमताको निलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् ।
मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।
बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र नौ मेगावाट क्षमताको सुपर घलेम्दीखोला जलविद्युत् आयोजनाको पनि निर्माण कार्य प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् गृह परिसरमा कालीगण्डकीको बाढीले क्षति पु¥याएकाले परीक्षण समेत उत्पादन बन्द भएको छ ।
मा प्रकाशित