बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ  ७९ अर्ब १७ करोड रुपैया  बराबरको क्षति : सर्वेक्षण

आर्थिक परिवेश

१० कार्तिक, काठमाण्डौ ।  रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ  ७९ अर्ब १७ करोड रुपैया  बराबरको क्षति भएको पाइएकाे छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ  नौ अर्ब ६० करोड रुपैया बराबरको क्षति भएको उल्लेख छ ।

सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।

जसमा घडेरीमा भएको क्षति  १३ अर्ब २६ करोड र घर निर्माण लागत  ११ अर्ब ९५ करोड रुपैया बराबर रहेको छ ।

बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात  ३५ अर्ब ४४ करोड रुपैया बराबरको क्षति भएको छ ।

त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । जुन रु २३ करोड २१ लाख क्षति हो ।

त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा  १० करोड ४१ लाख रुपैया बराबरको क्षति पुगेको छ ।

पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको  २१ करोड ४२ लाख रुपैया  बराबरका पशुपन्छी/माछामा क्षति भएको छ ।

आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको  एक अर्ब २४ करोड रुपैया बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको  पाँच अर्ब दुई लाख रुपैया बराबरको क्षति भएको छ ।

बाढीका कारण स्थायी प्रकृतिका (टिकाउ हुने) घरायसी वस्तुमा पनि क्षति पुगेको छ । जसमा तीन हजार १८७ परिवारले  एक अर्ब ४५ करोड रुपैया बराबरको सम्पत्ति गुमाएका छन् ।

साथै अस्थायी प्रकृतिका (टिकाउ नहुने) घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले  ६६ करोड ३५ लाख रुपैया बराबरको क्षति बेहोरेका छन् ।

आयोगका अनुसार बाढीका कारण कूल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ ।

प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ ।

साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् ।

सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो ।

मा प्रकाशित