
२७ कत्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघीय सामाजिक विकास समितिको नवौं सत्रमा सहभागी भएको छ ।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ESCAP) को आयोजनामा थाइल्याण्डको बैङ्ककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा नोभेम्बर ११ देखि १३ सम्म सो सत्र सम्पन्न भएको हो ।
सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै डा. मल्लले गरिबी निवारण र दिगो विकासका लागि उत्पादनशील रोजगारीको विस्तार, सामाजिक सुरक्षाको सुदृढीकरण तथा हेरचाह अर्थतन्त्रमा लगानी जस्ता विषयहरूलाई जोड्नुपर्नेमा जोड दिनुभयो।
आर्थिक वृद्धिसँगै समावेशीकरणलाई सँगसँगै अगाडि बढाउनुपर्ने र यसबाट सीमान्तकृत समुदाय लाभान्वित हुनुपर्ने उहाँको भनाइ थियो।

सो अवसरमा नेपालले हालै अगाडि बढाएका विभिन्न नीतिगत सुधारबारे जानकारी गराइएको थियो। राष्ट्रिय रोजगार नीति तथा राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकन,
देशको पहिलो राष्ट्रिय हेरचाह अर्थतन्त्र प्रवर्द्धन नीतिको तर्जुमा तथा रोजगारी र सामाजिक सुरक्षासम्बन्धी विश्वव्यापी प्रवर्द्धक (ग्लोबल एक्सीलेरेटर) रोडम्यापलाई अन्तिम रूप दिइएको विषय नेपालले प्रस्तुत गरेको थियो।
जलवायु परिवर्तनका कारण आएका बाढीजस्ता विपद्का घटनाहरूमा पनि नागरिकका जीविकोपार्जनको रक्षा र आवश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव श्रीमती कविता फुयालले नेपालका विभिन्न पहलकदमी तथा ज्येष्ठ नागरिक नीति, मर्यादित उमेरसँगै accessible सेवाहरू र भरपर्दो तथ्यांक प्रणालीबारे प्रकाश पार्नुभएको थियो।
बैङ्कक भ्रमणका क्रममा डा. मल्लले ESCAP का कार्यकारी सचिव तथा संयुक्त राष्ट्रसंघका अवर-महासचिव श्रीमती आर्मिडा साल्सिया अलिजाहबाना र उपकार्यकारी सचिव श्रीमती लिङ याङसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो।
भेटका क्रममा समावेशी सामाजिक विकास, सामाजिक सुरक्षा, आर्थिक रूपान्तरण, जलवायु उत्थानशीलता तथा नेपालको अल्पविकसित राष्ट्र (LDC) बाट स्तरोन्नतिको तयारीका विषयमा छलफल भएको थियो।
उक्त सत्रमा थाइल्याण्डका लागि नेपाली राजदूत तथा ESCAP का लागि स्थायी प्रतिनिधि धनबहादुर ओली र उपस्थायी प्रतिनिधि मोतीबहादुर श्रीसको पनि सहभागिता रहेको थियो।
मा प्रकाशित