नेपाल र भारतका उद्योग र बाणिज्य मन्त्रीहरु बीच दुइपक्षीय विषयमा छलफल

आर्थिक परिवेश

२७ कार्तिक,  काठमाण्डौ‌ ।  नेपाल र भारतका उद्योग र बाणिज्य मन्त्रीहरु बीच दुइपक्षीय व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवद्र्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको छ ।

नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा भएको द्विपक्षीय भेटवार्तामा त्यसतो छलफल भएको हो ।

एकतीसौँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा उद्योगमन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्यूरो (बिआइएस)को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्याहरू प्रस्तुत गर्नुभयो ।

उहाँले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड,जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज बनाउन आग्रह गर्नुभयो ।

नेपालमा बिआईएस मापदण्ड अनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीय उद्योगमन्त्री पीयुष गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गर्नुभयो ।

भेटका क्रममा नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ शुल्कको पुनरावलोकन, नेपाली चियाको भारतीय बजारमा निर्बाध प्रवेश तथा कृषि उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको छ ।्

मा प्रकाशित