कृषिमा युवाको आकर्षण, होटेल व्यवसाय छाडेर च्याउ खेतीमा

आर्थिक परिवेश

स्याङ्जा । पछिल्लो समय युवाहरू कृषिमा आकर्षित भएका छन् ।

विदेशबाट फर्केर तथा अन्य व्यवसाय छाडेर कृषिमा लाग्नेहरूको सङ्ख्या बढ्दै जान थालेको छ ।

सङ्घीयतासँगै स्थानीय पालिका तथा अन्य सङ्घ संस्थाहरूले आवश्यक प्राविधिक सहयोग तथा परामर्श दिन थालेपछि स्याङ्जाका युवाहरू कृषिमा आकर्षित भएका छन् ।

स्याङ्जाको पुतली बजार नगरपालिका ११ का शिवप्रसाद लामिछाने होटल व्यवसाय छाडेर व्यावसायिक कृषिमा लाग्नुभएको पनि ३ वर्ष पुग्यो । बुटवल हुँदै स्याङ्जामा समेत होटल गर्नुभएका लामिछानेले एकीकृत कृषि फर्म दर्ता गरेर अहिले च्याउ खेती, तरकारी तथा सुन्तला खेती र बाख्रा पालन पनि गर्नुभएको छ ।

१ हजार मुढामा सिताके च्याउ लगाउनुभएका छामिछानेलाई अहिले च्याउ बेच्न भ्याई नभ्याई छ । एक हजार मुढाबाट अहिले दैनिक १० किलोभन्दा बढी च्याउ उत्पादन भइरहेको छ ।

उहाँले आजभन्दा ७÷८ वर्ष पहिलेदेखि घरायसी प्रयोजनका लागि मात्रै च्याउ लगाए पनि व्यावसायिक रुपमा भने तीन वर्ष पहिलेदेखि सुरु गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “यसअघि होटल व्यवसाय पनि गरेँ तर होटल व्यवसायमा सहज रुपमा कामदार नपाउने समस्या भएपछि कृषिमै केही गरौँ, आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटले अहिले कृषिमै लागिपरेको छु ।”

कृषिमा पनि सिताके च्याउमा मेहेनत र लगानी तुलनात्मक रुपमा कम हुने भएकाले पनि च्याउमा उहाँको आकर्षण बढेको हो । च्याउसँगै उहाँको फर्ममा २० वटा बाख्रा पनि छन् ।

१० रोपनीमा सुन्तला समेत लगाउनुभएका लामिछानेले गत वर्ष डेढ लाखभन्दा बढीको च्याउ बेच्नुभएको छ भने उहाँले अहिले ४ लाखको च्याउ बेच्ने लक्ष्य लिनुभएको छ ।

सिताके च्याउ बिउ रोपेको ९ महिनापछि फल दिन थाल्छ । कटुस, उत्तिस जातको काठमा उपयुक्त हुन्छ । कार्तिक १५ देखि पुससम्म र फाल्गुनबाट वर्षमा दुई सिजनमा फल टिप्न सुरु हुन्छ ।

पुतली बजार नगरपालिका ११ र १२ सिताके च्याउको पकेट क्षेत्र हो ।

कृषि विकास कार्यालयले दुई वर्षदेखि दुई वडामा च्याउको पकेट कार्यक्रममार्फत किसानलाई मुडा व्यवस्थापन, तालिम बिउ प्रदान गरेको थियो । च्याउको महत्त्व कम थाहा हुँदा स्थानीय बजारमा सहज रुपमा सिताके च्याउको बजारीकरण हुन सकेको छैन । प्रति केजी ४ सय ५० रुपैयाँमा सिताके च्याउ बिक्री हुने गर्दछ ।

स्याङ्जासहित पोखरा, बुटवल र नारायणघाटमा समेत च्याउ निर्यात हुने गरेको छ तर सहजै बजारीकरण हुन नसकेको लामिछानेले बताउनुभयो ।

“आजभन्दा दुई वर्ष अगाडि स्याङ्जामा दैनिक २, ३ केजी मात्रै बिक्री हुन्थ्यो तर अहिले भने दैनिक १० केजी बिक्री हुन्छ तर त्यति सहज भने छैन ।”, उहाँले भन्नुभयो ।

शाकाहारीले प्राय च्याउ रोज्ने गरेका छन् भने पछिल्लो समय मांसाहारीले समेत च्याउ रोज्ने गरेका छन् ।

मा प्रकाशित