नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा १६४ प्रतिशतले बढ्यो ।

आर्थिक परिवेश

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आर्थिक बर्ष २०७८÷७९मा खुद नाफा बढेर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
प्राधिकरणको आव २०७८÷७९को अपरिष्कृत वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷७८ मा प्राधिकरणले ६ अर्ब १० करोड खुद नाफा गरेको थियो ।
यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।
‘ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढ्ेको,विद्युत निर्यात बृद्धि भएको, प्राधिकरणको स्वामित्वका विद्युतगृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि भएको, विद्युत चुहावट नियन्त्रण भएको तथा खर्च नियन्त्रण भै आम्दानी बृद्धि भएको जस्ता कारणले प्राधिकरणको खुद नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताउनु भयो ।
आव २०७२÷७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यस पछिका वर्षहरुमा निरन्तर नाफामा सञ्चालन हुदै आएको छ ।
आव ०७३÷७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफा बढाएर आव ०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७÷७८मा भने नाफा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।
विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको कार्यकारी निर्देशक घिसिङले भनाइ छ । प्राधिकरणले गत आर्थिक बर्षमा विद्युत बिक्रीबाट मात्रै ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिएको प्राधिकरणले उल्लेख गरेको छ । त्यस अवधिमा प्राधिकरणले विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी गरेको छ, जुन अघिल्लो आर्थक बर्षको तुलनामा २२ प्रतिशतले बढी हो ।
विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो
सो बर्षमा प्राधिकरणले प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरेका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको छ । विद्युत प्रणालीमा आव ०७२÷७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाउदै प्राधिकरणले आव २०७६÷७७ मा १५.२५ प्रतिशतमा झारेको भए पनि आव ०७७÷७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८÷७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको प्रधिकरणको भनाइ छ । चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउने, ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण गर्ने लगायतका काम अभियानकै रुपमा प्रभावकारी र व्यवस्थित रुपमा अघि बढाएकोले पनि नाफामा सुधार भएको कार्यकारी निर्देशक घिसिड.ले बताउनु भयो ।
विद्युत निर्यात बढ्दा खुद आयात भने घट्यो
नेपालबाट भारतर्फको विद्युत निर्यात आर्थिक बर्ष २०७८÷७९मा बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७÷७८मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८÷७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा आव २०७८÷७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले बृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ ।
आन्तरिक माग धान्न आव २०७७÷७८मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८÷७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको प्राधिकरणले उल्लेख गरेको छ ।
आव २०७७÷७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८÷७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ । रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ ।
कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताउनुभयो । आव २०७८÷७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।

मा प्रकाशित