खोटाड । विसं २०६८बाट किबीको व्यावसायिक खेती सुरु गरिएको खोटाड जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती सुरु गरेका छन् ।
लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यावसायिक किबी खेती गर्नेको लहर नै चलेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । उहाँले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार,हलेसी,धरान, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यसवर्ष करिब चार हजार ५०० केजी किबीको फल तथा ६० हजारभन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । राईले उत्पादन गर्नुभएको किबी अहिले प्रति केजी २०० देखि २५० रुपैयासम्ममा घरैबाट बिक्री भइरहेको छ ।
उता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाचिउरीडाँडाका शुभचन्द्र राईलेकिबीको फल तथा बिरुवा बिक्री गरेर राम्रो आम्दानी गरिरहनुभएको छ राईको फार्ममा यसवर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान गरिएको छ ।
यस्तै, छितापोखरीस्थित गोगनेका राजेश थापामगरले ४२ रोपानी जग्गामा किबी खेती गर्नुभएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश पुगेर फर्कनुभएका थापामगरले विसं २०७५मा नमूना अर्गानिक किबी फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गर्नुभएको हो । उत्पादित किबीको बजारको समेत समस्या नभएकोले यस खेतीले जिल्लाको आर्थिक अवस्थामै परिर्वतन ल्याएको छ ।