बैंक तथा वित्तीय संस्थामा एकै दिनमा ७ अर्ब निक्षेप जम्मा, तरलताको अवस्थामा सुधार हुने

आर्थिक परिवेश

काठमाडौँ । निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थामा तरलताको अभावमा लगानी गर्न गाह्रो भएको भन्दै आन्दोलन लगायतका कार्यक्रमहरु गरिरहेको बेला पछिल्लो समय वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो ।
पुस १९ सम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब रुपैया निक्षेप रहेकोमा पुस २० गते निक्षेप बढेर ५३ खर्ब २ अर्ब पुगेको हो ।
गत मङ्सिरको अन्तिम सम्ममा ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब रुपैया निक्षेप सङ्कलन भएको छ ।
पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब रुपैया बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ ।
बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।

मा प्रकाशित