व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी : अर्थमन्त्री

आर्थिक परिवेश

काठमाडौं, पुस २८ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताउनु भएको छ ।

भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले  कोभिड १९ को महामारी पछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामुहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनु भएको हो ।

मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्नु हुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो–‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी सम्बृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं ।’

आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरुलाई प्राथमिकता दिएको  र  दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु. ५८५ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ ।

‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ । यो  कोभिड १९ महामारी पूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ, उपप्रधान तथा अर्थमन्त्रीले भन्नुभयो–वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रुपमा वित्तीय स्रोतका विभिन्न स्वरुपको समिश्रण गर्नुपर्दछ ।`

नेपालले द्धिपक्षीय र बहुपक्षीय  विकास साझेदारहरुसँग सहयोगात्मक  सम्बन्ध  राखेको उल्लेख गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्याएको सहयोगप्रति आभार व्यक्त  गर्नुभयो ।

नेपाल विकास वित्तका  दायरा विस्तार गर्न दक्षिण-दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ  प्राप्त गर्न इच्छुक रहेको बताउनुहुँदै उहाँले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।

नेपालमा हामी वित्तीय सेवाहरुमा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउनुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्युतीय वित्तीय सेवाहरुको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रमहरु लागु गरेको जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउनुहँदै उहाँले वित्तीय समावेशिकरण तथा डिजिटलाईजेशनमा भारतले ठूलो सफलता हासिल गरेको  र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नु भयो ।

समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरुको सहभागिता थियो ।

 

मा प्रकाशित