९ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेर पूर्णता दिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोगकाे सदस्यमा नियुक्त गरेको हो ।
नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुनुहुन्छ । डा पाैडेल अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएकाे हाे । आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील रहँदै अाउनु भएकाे छ ।
पौडेल र विछाले शुक्रबार नै शपथ ग्रहण गरिसक्नु भएकाे छ । बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण हुन सकेन ।
सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठलाई तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको हाे ।
राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सरकारलाइ सल्लाह दिने उपल्लो निकाय हो ।
राष्ट्रिय योजना आयोगको अध्यक्षता भने प्रधानमन्त्रीले गर्ने व्यवस्था रहेकाे छ । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरी छ जना सदस्यहरू र नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत (सचिव) सदस्य सचिवको रूपमा रहने व्यवस्था छ। नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव आयोगको पदेन सदस्यको रूपमा रहने व्यवस्था छ।
मा प्रकाशित