गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो,नेप्से परिसूचक २१०९ मा

आर्थिक परिवेश

६ पुष, काठमाडौं ।  अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो ।
यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो ।

आइतबार २७, सोमबार ३८, मंगलबार ४६, बुधबार ३५ अंक बढेको नेप्से बिहीबार भने ३२ अंक घट्यो । समग्रमा साताभर बजार ११५ अंक बढ्यो ।

नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकम उल्लेख्य भएको छ । यो साताका हरेक दिन ५ अर्बभन्दा बढीको कारोबार भयो ।

आइतबार ५ अर्ब १५ करोड, सोमबार ६ अर्ब ८६ करोड, मंगलबार ५ अर्ब ९८ करोड, बुधबार ७ अर्ब र बिहीबार ६ अर्ब २७ करोडको कारोबार भयो ।

समग्रमा साताभर ३१ अर्ब २७ करोडको कारोबार भयो । गत साता पाँच दिन नै बजार खुल्दा १६ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

दैनिक हुने गरेको कारोबारमा बुधबारको कारोबार करिब १ वर्ष यताकै उच्च हो । सो दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ, जुन रकम २६ पुस २०७९ यताकै उच्च हो ।

गत वर्षको २६ पुसमा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

यो साता समग्र सेयर बजारको परिसूचकमा उल्लेख्य वृद्धि देखिए पनि ६ वटा समूहको वृद्धिदर नेप्सेको भन्दा तल रह्यो भने बाँकी ६ वटा समूहको वृद्धिदर नेप्सेको भन्दा उच्च रह्यो ।

बजारमा विभिन्न कम्पनीका सेयरलाई १२ वटा समूहमा विभाजित गरिएको छ । म्युचुअल फण्डसहित १३ समूह छन् ।

वृद्धिदरमा नेप्सेलाई ‘ओभरटेक’ गरेका समूहमा होटल, हाइड्रोपावर, माइक्रोफाइनान्स, उत्पादन, व्यापार र लगानी छन् । समग्रमा यो साता नेप्से ५.७ प्रतिशतले बढ्दा यी ६ समूहको वृद्धिदर सोभन्दा धेरै रह्यो ।

यीमध्ये पनि उत्पादन समूह सबैभन्दा धेरै १९ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह भने वृद्धिदरका आधारमा नेप्सेभन्दा पछि परे ।

मा प्रकाशित