२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाले आवेदन दिएका छन् ।
आइतबार साँझसम्म आवेदन दिने म्याद तोकिएको थियो । सीईओ सिफारिस समितिले तोकेको म्यादभित्र आवेदन दिनेमा यसअघि नै सीईओ सम्हालिसकेका कृष्णबहादुर कार्की समेत छन् ।
त्यस्तै सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्यको पनि आवेदन परेको छ ।
नेप्से सचिवालयका अनुसार अन्य आवेदकमा बद्रिप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलान्चोक), चुडामणि चापागाईं (झापा), बिमलकुमार तिवारी (सिराहा), हेमन्त बस्याल (पाल्पा) र मुकुन्दराज जोशी (डढेलधुरा) छन् ।
अब सिफारिस समितिले यी नामबाट ५ जनाको सर्टलिस्ट तयार गर्नेछ । सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइनेछ ।
कार्यायोजना प्रस्तुती तथा अन्तवार्ताबाट उत्कृष्ट ३ जनालाई छनोट गरी नाम सिफारिस गरिनेछ । समितिको सिफारिसमध्येबाटै एक जनालाई सरकारले सीईओमा नियुक्त गर्नेछ ।
खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आजसम्म आवेदन माग गरेको थियो ।
अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।
मा प्रकाशित