कर्णालीमा उद्यमशीलताको विकासका लागि ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने

आर्थिक परिवेश

१७ भदाै सुर्खेत ।    कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेशको औद्योगिक विकासलाई द्रुत गतिमा अघि बढाउन ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रभावकारी हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत म‌गलवार सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक कार्यशाला आयोजना  गर्याे  ।

‘स्टार्टअप कर्जा कार्यक्रम’ सम्बन्धी प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानी अभावमा पछाडि परेको कर्णालीको समृद्धिका लागि उद्यमशीलताको विकासमा ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

सङ्घीय सरकारले ल्याएको ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रदेश, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा व्यवसाय प्रवर्द्धन, बजारीकरणसँगै मूल्य शृङ्खलाको विकासका लागि समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले स्टार्टअप कर्जा वितरण प्रक्रियालाई सहज, पारदर्शी र सबैको पहुँचमा पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

स्टार्टअप इनोभेसन फोरमकी संयोजक जुना माथेमाले स्टार्टअप व्यवसायलाई बैङ्किङ पहुँचमा लैजाने प्रक्रिया र नव प्रवर्तनलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै आइइडीआईका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा कार्यक्रमको उद्देश्य, पात्रता, आवेदन प्रक्रिया र दस्ताबेज आवश्यकताबारे विस्तृत जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका महिला उद्यमी, युवा व्यवसायी, विभिन्न क्षेत्रका सरोकारवाला, उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले उद्यमशीलता विकास, वित्तीय पहुँच र व्यावसायिक परामर्श जस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।

मा प्रकाशित