बाढीका कारण ऊर्जा र सिँचाइ क्षेत्रको पुनरुत्थानका लागि करिब ८ खर्ब लाग्ने

आर्थिक परिवेश

८ असोज,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीका कारण ऊर्जा र सिँचाइ क्षेत्रको पुनरुत्थानका लागि करिब ८ खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्याङ्कनमा ऊर्जा क्षेत्रमा  ३खर्ब ९० अर्ब ६२ करोड ३० लाख र सिँचाइका क्षेत्रमा चार अर्ब ९४ करोड ३० लाख रुपियाँको आकलन गरिएको जानकारी दिनुभएको हो ।

मन्त्री श्रेष्ठले विपत्को असर ठुला जलविद्युत् आयोजना र संरचनासँगै सामुदायिक प्रयोगमा रहेका नवीकरणीय ऊर्जा प्रविधिमा समेत उच्च रहेको बताउनुभयो ।

सिँचाइ आयोजना, नदी नियन्त्रण संरचना तथा जल केन्द्रमा समेत क्षति पुर्‍याएको उहाँले बताउनुभयो । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कमा प्रदेश र स्थानीय तहबाट निर्माण गरिएका संरचना समावेश नभएको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीपछिको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरेको र उद्धार तथा खोजसँगै विस्थापित परिवारको पुनर्स्थापना गर्नु र क्षतिग्रस्त विद्युत्, सडक, पुललगायतका पूर्वाधारको पुनर्निर्माणमा सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

आठ सय सम्पर्कविहीन

बाढीमा जलविद्युत् आयोजना र संरचनामा कार्यरत ८ सय जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

जसमध्ये नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी रहेको उहाँले बताउनुभयो । बाढी आउनुअघि माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ९५५ जनाको सकुशल उद्धार भएको उहाँले बताउनुभयो ।

उक्त आयोजनाबाट ४३९ जना सम्पर्कविहीन रहेको र ३९ वटा शव फेला परेको जानकारी मन्त्री श्रेष्ठले दिनुभयो ।

माथिल्लो त्रिशूली ३ ‘ए’ मा ३९ जना सम्पर्कविहीन रहेको उहाँको भनाइ छ । उक्त आयोजनाबाट दुई जना कर्मचारी सकुशल उद्धार भएको उहाँले बताउनुभयो ।

आयोजनामा एक जनाको शव प्राप्त भएको उहाँले बताउनुभयो । माथिल्लो त्रिशूली ३ ‘बी’ बाट १७८ जना, रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, मैलुङखोला

जलविद्युत् आयोजनबाट सात जना, रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाबाट तीन जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको उहाँको भनाइ छ ।

लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना सम्पर्कविहीन रहेको जानकारी उहाँले दिनुभयो । उक्त आयोजनाबाट १९ जनाको सकुशल उद्धार गरिएको र दुई वटा शव निकालिएको उहाँले बताउनुभयो ।

चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहबाट पाँच जना कर्मचारीको शव फेला परेको उहाँले बताउनुभयो । मिडिल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई, त्रिशूली जलविद्युत् केन्द्रबाट तीन जना सम्पर्कविहीन रहेको पनि उहाँले जानकारी दिनुभयो ।

एघार आयोजना बन्द

बाढीमा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा रहेका प्राधिकरण र प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

बाढीपूर्व सञ्चालनमा रहेका सात वटा आयोजना र एउटा सौर्य आयोजना गरी करिब २७५ मेगावाटमा क्षति भएको उहाँले जानकारी दिनुभयो ।

१३५ मेगावाट क्षमताका तीन वटा आयोजनामा क्षति नभए पनि प्रसारण लाइनमा क्षति हुँदा हाल उत्पादन बन्द रहेको उहाँले बताउनुभयो ।

मा प्रकाशित