पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द

आर्थिक परिवेश

०९ कार्तिक, काठमाण्डौ ।    दशैँ बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

दशै बिदा अघि निरन्तर सात कारोबार दिन बढेको नेप्से, बिदा पछि भने घटेको हो।

सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ३८ हजार ७८८ पटकको कारोबारमा ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सो कम्पनीको शेयरमूल्य यस दिन ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशत बढेको छ। कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ भने माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ।

त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२१ प्रतिशत घटेको छ।

मा प्रकाशित