११ पुष, नेपालगन्ज । महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण गर्न नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ ।
महिला उद्यमी संघ बाँकेले महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीहरूलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी गर्न लागेको जनाएको छ ।
सङ्घले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर हरेक वर्ष हुँदै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई यसपटक पनि निरन्तरता दिँदै पुस २४ देखि २८ गतेसम्म आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्न जानकारी दिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरूलाई उद्यमतर्फ आकर्षित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने उद्देश्य लिइएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा पोख्रेल बस्नेतले बताउनुभयो ।
आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा ६० बढी महिला उद्यमीहरूको स्टल रहने सङ्घकी प्रथम उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिनुभयो ।
प्रदर्शनी आयोजना गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सिंहले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा ५ दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरूको सहभागिता रहने बताइएको छ ।
यस्तै कर्णाली र सुदूरपश्चिमबाट समेत केही महिला उद्यमीहरू प्रदर्शनीमा सहभागी हुने जानकारी दिइएको छ ।
नव उद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरूलाई निःशुल्क स्टल राख्न दिइने बताइएको छ । प्रदर्शनीमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसी रेसिडेन्सियल स्कुलका विद्यार्थीको स्टल रहने सिंहले बताउनुभयो ।
‘यस पटक अर्को नयाँ अभ्यास गर्ने क्रममा प्रदर्शनीमा सहभागी भएका स्टलहरू मध्ये बाँकेबाट सहभागी भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागी भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गर्नेछौँ ।’
यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरूको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरूले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरू पहिलोपटक सहभागी हुने बताइएको छ ।
मा प्रकाशित