यस बर्ष निरन्तर बर्षा र अनुकुल माैसमका कारण धान राेपाँइ क्षेत्रफल बढ्याे

आर्थिक परिवेश

   ०८भदाै, काठमाडौँ ।  समयमा बर्षा र मनसुन अनुकूल हुँदा यस बर्ष नेपालमा ९८.५  प्रतिशत क्षेत्रफलमा  रोपाइँ सम्पन्न भइसकेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ ।

मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएकाे  छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

अघिल्लो वर्ष भदौ ७ सम्म कोशी प्रदेशमा ९७ दशमलव सात प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ८६ हजार एक सय ५० हेक्टर रोपाइँ हुने क्षेत्र रहेकामा तीन लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अघिल्लो वर्ष मधेस प्रदेशमा ८९ दशमलव दुई प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

तथ्याङ्कअनुसार बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकामा एक लाख ११ हजार तीन सय ५१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जानकारी दिनुभयो ।

यस वर्ष गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ रहेकामा ९३ हजार नौ सय २१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन प्रतिशतमा यस वर्ष रोपाइँ सम्पन्न पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा तीन लाख ६ हजार तीन सय ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

अघिल्लो वर्ष ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यसैगरी यो वर्ष सुदूरपश्चिम प्रदेशमा शत्प्रतिशत नै रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा एक लाख ७४ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

अघिल्लो वर्ष सुदूपश्चिम प्रदेशमा भने ९४ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झन्डै चार प्रतिशतले रोपाइँ बढेको जानकारी दिनुभयो ।

“अघिल्लो वर्षहरूका तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेको छ,” उहाँले भन्नुभयो, “यदि अब खडेरी परेन र धान भित्र्याउने बेलामा ठूलो वर्षा भएन भने १० प्रतिशतले धान उत्पादन बढ्नेछ ।”

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीले जानकारी दिनुभयो

“अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,” उहाँले भन्नुभयो ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूपश्चिममा भएको छ भने कम रोपाइँ मधेस प्रदेशमा भएको देखिन्छ । पूर्व क्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको बताउनुहुन्छ, मन्त्रालयका सूचना अधिकारी जोशी ।

सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ । सुदूरपश्चिममा सबैभन्दा चाँडो रोपाइँ सुरु गर्ने भए पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी रोपाइँ भएको जोशीको भनाइ छ ।

जोशीले किसानले समयमा नै मल पाउँदा धान पनि समयमा नै रोप्न सकिने जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा छ लाख मेट्रिक टन मल आह्वान गरेकामा चार लाख ७२ हजार दुई सय ८७ मेट्रिक टन आयात भएको थियो ।

बिक्री भने चार लाख ५५ हजार नौ सय ३९ मेट्रिक टन बिक्री भएको थियोे । हालसम्म ८७ हजार एक सय ५४ मेट्रिक टन मौज्दात रहेको अवस्था छ ।

चालु आर्थिक वर्षको साउनमा भने तीन लाख ७० हजार मेट्रिक टन रासायनिक मलका लागि ‘टेन्डर’ आह्वान गरिएको जोशीको भनाइ छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेकाे छ । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको हो ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि वृद्धि हुने बताउनुभयो ।

उहाँले धान उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न रासायनिक मलको सहज उपलब्धता र सिँचाइको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ ।

यसैगरी, करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

धान उत्पादनको अवस्था 

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको  थियो ।

जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव ०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ ।

यो क्षेत्रफल अघिल्लो चार आवको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।

गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ ।

गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गयो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टर मेट्रिक टनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।

गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ ।

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

मा प्रकाशित