७ असोज, काठमाण्डौ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेकोछ ।
यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।
महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो ।
१० ग्राम सिक्काको १ हजार ६ सय रूपैया र २५ ग्राम सिक्काको ४ हजार रूपैया मूल्य निर्धारण गरिएको छ ।
बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ ।
दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।
सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरतादिइने महाशाखाले जनाएको छ ।
बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।
मा प्रकाशित